कम्पनी रजिष्ट्रारका सबै काम मन्त्रालयबाटै अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन मन्त्री भण्डारीको निर्देशन


काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयबारे अनियमितताका प्रश्न उठेसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निगरानी बढाएका छन् । उनले कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सीसीटीभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन् ।
उनले कम्पनी रजिष्ट्रारको कार्यालयका सम्पूर्ण गतिविधिहरू मन्त्रालयका सचिवको कार्यकक्षबाटै अवलोकन गर्न सकिने व्यवस्था मिलाउन समेत निर्देशन दिएका हुन् ।
कर्मचारीहरूले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सर्भर डाउनसम्मको क्रियाकलाप भएको विषय सञ्चार माध्यममा आएसँगै मन्त्री भण्डारी एक्सनमा उत्रिएका हुन् ।
उक्त विषयमा विभिन्न संयन्त्र मार्फत अनुसन्धान भइरहेको र प्रमाण पाउनासाथ सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
कम्पनी दर्ता, नवीकरण लगायत कामका लागि केही समयदेखि थन्किएका फाइल असार मसान्तसम्म दिनरात सेवा दिएर भए पनि टुङ्ग्याउन मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।
उनको निर्देशनमा शुक्रबार औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेत नेतृत्वको टोली कम्पनी रजिस्ट्रारको कार्यालय पुगेको थियो ।
उक्त टोलीसँग त्यहाँका कर्मचारीहरूले काम गर्ने क्रममा केही कानुनी र प्राविधिक समस्या रहेका कारण काममा ढिलाइ भइरहेको गुनासो गरेका छन् ।