ललितपुर महानगरको कुल खर्च ६८ प्रतिशत, लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन


ललितपुर । ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्मको कुल खर्च ६८.१४ प्रतिशत पुगेको छ। महानगरको पुँजीगत खर्च ६०.६२ प्रतिशत र चालु खर्च ८५.३२ प्रतिशत पुगेको हो ।
ललितपुर महानगरले शनिवार आफ्नो सातौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति र आगामी वर्षको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार महानगरले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । लेखा परीक्षणमा बेरुजु ०.५२ प्रतिशत रहेको देखिएको छ ।
त्यसैगरी महानगरले आफ्नो संस्थागत क्षमतामा पनि सुधार गरी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । वित्तीय जोखिम मूल्याङ्कनमा ९९.५ प्रतिशत अङ्क हासिल गरेको महानगरले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कनमा ७४.७१ प्रतिशत अङ्क पाएको छ।
पत्रकार सम्मेलनमा महानगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटबारे पनि जानकारी दिएको छ। महानगरपालिकाको सातौं नगरसभाबाट पारित यस योजनामा ३४ वटा क्षेत्र समेट्दै कुल ३८८ वटा नीतिहरू निर्धारण गरिएका छन्।
आगामी आर्थिक वर्षका लागि कुल ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। यसमध्ये, पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको छ । प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक सुरक्षा र ससर्त अनुदानमा १ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ खर्च गरिनेछ।
बजेट सीमाभित्र रही गरिएको क्षेत्रगत विनियोजनमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको महानगरले कुल बजेटको ६६ प्रतिशत पूर्वाधार विकासमा खर्च गर्ने जानकारी दिएको छ।
Facebook Comments