‘केपी ओलीबिनाको एमाले चाहनेको कामना पूरा हुँदैन’


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् ।
झापामा आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै ओलीले भने, “एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन।“
उनले विगतमा पार्टी विभाजन र सिध्याउने षड्यन्त्र गर्ने स्वार्थी नेताहरूलाई आरोप लगाउँदै कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको जिकिर गरे ।
ओलीले पार्टीभित्र र बाहिरबाट भइरहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे । “एमाले सानो स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ,“ उनले भने ।
ओलीले आफू र एमालेले कहिल्यै भ्रष्टाचार नगर्ने दाबी गर्दै रास्वपालाई सहकारी ठगेर मुद्दा झेलेपछि हस्ताक्षर अभियान चलाउने पार्टीसँग तुलना गरे ।
उनले एमालेले नसके नेपाललाई अरू कसैले बनाउन नसक्ने स्पष्ट पार्दै आफ्नो प्रधानमन्त्रीत्वकालमा फलामखानी, पेट्रोलियम पदार्थ उत्खनन, सुरुङमार्ग निर्माणजस्ता विकासका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए ।
ओलीले नेपालको अन्तर्राष्ट्रिय छवि बनेको उल्लेख गर्दै स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाईसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुष्प्रचार गरेको आरोप लगाए ।