काठमाडौंमा चोरीका दुई स्विफ्ट कार बरामद, चालक पक्राउ


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा र बौद्ध क्षेत्रबाट ट्राफिक प्रहरीले भारतबाट चोरी गरेर ल्याएको आशंकामा दुईवटा स्विफ्ट कार बरामद गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती कार नियन्त्रणमा लिएको हो ।
कागेश्वरी मनोहरा–८, शिवचोकबाट बा.१६ च ३१३१ नम्बरको कार र बौद्धबाट बा.१६ च ४०१७ नम्बरको कार बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले जानकारी दिए ।
कार चालक दोरम्बा गाउँपालिका–४ का धनबहादुर तामाङ (४०) र सिन्धुलीका मोहन लामा (३९) लाई असार २७ गते कारसहित नियन्त्रणमा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।
एसपी गिरीका अनुसार, बरामद गरिएका दुवै गाडीको रेकर्ड यातायात व्यवस्था कार्यालय र आयातकर्ता कम्पनीमा भेटिएको छैन । यसबाट दुवै गाडी भारतबाट चोरी गरी ल्याइएको आशंका गरिएको छ ।