प्रधानमन्त्रीलाई योगेशको आग्रहः ‘सुशासनमा सम्झौता होइन, दोषीलाई कठोर कारबाही गर्नुहोस्’


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले मुलुकमा सुशासनको प्रत्याभूति अनिवार्य रहेको बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भट्टराईले सरकारले सुशासनमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए । उनले सत्तारुढ दलभित्रै गडबडी भए पनि छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरामा प्रधानमन्त्रीलाई कठोर बन्न आग्रह गरे ।
“यति बलियो सरकार भइसकेपछि सुशासनको प्रत्याभूति हुनैपर्छ,“ उनले भने, “कहीँकतै सत्तारुढ दलभित्र समस्या छन्, गडबडी भएका छन् भने छानबिन हुनुपर्छ। कतिपय कुरामा प्रधानमन्त्रीज्यू पनि कठोर हुनुपर्छ।“
भट्टराईले राजनीति दल र लोकतन्त्रको छवि जोगाउन कुनै व्यक्तिको अनुहार हेर्न नहुने जिकिर गरे । उनले दुई दलीय सरकार बनेकाले शासकीय स्थायित्व रहेको उल्लेख गर्दै कर्मचारीतन्त्रलाई पनि राज्यको लक्ष्यअनुसार अगाडि बढ्न आग्रह गरे ।