आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै शिक्षक महासंघले भन्यो–अन्यथा संवाद छोडेर आन्दोलनमा होमिने छौं

काठमाडौं। शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरेको र विद्यालय शिक्षा विधेयकमा शिक्षक–कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको हो ।
महासंघले विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न माग गर्दै अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी दिएको छ।
‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एक पटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने उदघोष गर्दछौं ।’
महासंघले गत चैत २० गतेदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट असार १५ गते भित्र पारित गर्ने सहमति भएको थियो । सहमति अनुरूप आजसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस हुन नसकेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
महासंघले आम शिक्षक–कर्मचारीको भावना तथा विद्यालय शिक्षाको आवश्यकताप्रति सरकार बेखबर रहेको र उपसमिति तथा समितिमा चलिरहेको छलफल हेर्दा सम्बन्धित पक्षले चैत्र–वैशाखको शिक्षक–कर्मचारी आन्दोलन र विगतका सहमतिहरू बिर्सेको प्रतीत भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयहरूले विगतका सहमतिहरूलाई बङ्ग्याउने, तोडमरोड गर्ने तथा आम शिक्षक–कर्मचारीको भावना, शिक्षण पेसाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्धहरू अघि बढाउने प्रयत्न भइरहेको छ।’