आवश्यकता अनुसारकै चलचित्र ऐन बन्ने


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको चलचित्र विधेयक आजको आवश्यकता अनुसार नै बन्ने बताएका छन् ।
आज चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ मा मन्त्री गुरुङले राष्ट्रियसभामा प्रस्तुत गरिएको विधेयकलाई सबैको सल्लाह र परामर्शमा आजको आवश्यकता अनुसार ल्याउने बताए ।
उनले भने, “अहिले हामीले चलचित्र विधेयक प्रस्ताव गरेका छौँ, त्यो ऐन बन्ने प्रक्रियामा अगाडि बढ्दै गर्दा चलचित्रकर्मीले खोज्नुभएको जस्तो र आजको आवश्यकता अनुसार कै आउँछ । त्यसमा प्राप्त सबैका सल्लाहअनुसार हामी चलचित्र ऐन ल्याउने छौँ ।”
उनले चलचित्रका माध्यमले नेपालको सुन्दरता, सांस्कृतिक विविधतालाई प्रचारप्रसार गर्न सकिनेमा जोड दिए । यसका साथै, चलचित्रलाई उद्योगको रुपमा बढाउन सकेमा त्यसले कूल गार्हस्थ्य उत्पादनमा समेत योगदान दिन सक्ने उनको भनाइ छ ।
“चलचित्र उद्योगको रुपमा राम्रोसँग अगाडि बढ्न सके त्यसले प्रचारसँगै रोजगारी सिर्जना गर्छ । यसले हाम्रो अर्थतन्त्रमा योगदान दिएर समृद्ध बनाउन योगदान दिनसक्छ । स्टुडियो निर्माणको सुरुआत, चलचित्र ऐनलगायत हामीले सुरू गरेको कामले विस्तारै चलचित्रलाई उद्योगको रुपमा स्थापित गर्न मदत गर्ने विश्वास छ”, मन्त्री गुरुङले भने ।
चलचित्र विकास बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा चलचित्र दीर्घसाधना सम्मान, चलचित्र पुरस्कार प्रदान गर्नुका साथै चलचित्र क्षेत्रमा योगदान दिएका १० जनालाई सम्मान र एक जना प्राविधिकलाई मरणोपरान्त सम्मान गरिएको थियो ।