Ad Image

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Muglin pokhara rimalni photo 2.jpg

तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ ।

तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ ।

कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

उनले भने, “कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।”

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो ।

विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।