Ad Image

मानव तस्करी प्रकरणमा गृहमन्त्रीको निर्देशनपछि अनुसन्धान सुरु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramesh-lekhak.jpg

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई सहभागी बनाएर मानव तस्करी गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले यो मामिलामा प्रहरीलाई विस्तृत अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । प्रारम्भिक जाँचबुझमा असम्बन्धित व्यक्तिहरू गएको हुनसक्ने देखिएपछि गृहमन्त्री लेखकले थप छानबिन गर्न निर्देशन दिएका थिए । 

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानवबेचबिखन अनुसन्धान ब्यूरोले यस सम्बन्धमा जानकारी संकलन गर्न सुरु गरिसकेको जानकारी गराएका थिए ।

बैठकले प्रहरीलाई थप अनुसन्धान गर्ने जिम्मा दिने र अध्यागमन विभागले त्यसमा सहयोग गर्ने निर्णय गरेको छ । स्पेनको सेभियामा जुन ३० देखि जुलाई २ सम्म चलेको सम्मेलनमा सहभागी गराउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरूलाई पठाइएको हुनसक्ने आशंकामा सो अवधिमा भिजिट भिसामा गएका सबैको विवरण जाँच गरिने भएको छ ।

ती व्यक्तिहरू फर्किए वा नफर्किएको जाँच गरेपछि उनीहरूलाई पठाउने गिरोहबारे पनि प्रहरीले अनुसन्धान गर्नेछ । यसअघि असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेनका लागि उडेकै विमानमा पनि बिचौलियाले कतिपयलाई मड्रिड लगेको पाइएको थियो ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्मेलनमा गैरसरकारी संस्थातर्फबाट सहभागिताका लागि भन्दै उनीहरूको नाम वेबसाइटमार्फत दर्ता गराइएको थियो, जसका आधारमा उनीहरूले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए ।

पछि भिसा लिएकाहरूको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरूलाई पठाएर उनीहरूलाई रोक्न भनिएको थियो ।

खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली स्पेन जान लागेका बेला पनि थुप्रै व्यक्तिहरूलाई फर्काइएको थियो । स्पेन पुगेका कम्तीमा ७ जना नागरिक कार्यक्रममा नगई त्यहीँ बसेको देखिन्छ ।