मधेश प्रदेशद्वारा वन क्षेत्र सुधार अभियान सुरु

धनुषा । मधेश प्रदेश सरकारले वन क्षेत्र सुधारको अभियान सुरु गरेको छ । वन निर्देशनालयको आयोजनामा वार्षिक तथा चौथो त्रैमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा मन्त्रालयले विभिन्न जिल्लामा सञ्चालन भएका योजनाको वार्षिक प्रगति प्रतिवेदन र समीक्षा प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले पारदर्शी, जवाफदेही र जनमैत्री वन प्रशासन निर्माण गर्न सबै सरोकारवालाको साझा पहल आवश्यक रहेको बताए। उनले अब सबै जिल्लामा वनसँग सम्बन्धित राजस्व उठाउन सबैले प्रयास गर्न आवश्यक रहेको बताए ।
मन्त्री यादवले भने, “जस्तोसुकै अवस्थामा पनि राज्यको समृद्धिका लागि वन संरक्षण र राजस्व वृद्धि अत्यावश्यक छ । ‘सेटिङ’ शब्दलाई वन प्रणालीबाट जरैदेखि हटाउनु जरुरी रहेको उनको भनाइ छ ।
सो अवसरमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले वन कर्मचारीको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै वन क्षेत्रलाई कसरी राम्रो गर्ने भन्नेतर्फ लाग्न सबैमा आग्रह गरे। वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन अतिक्रमण क्षेत्रको व्यवस्थापनका लागि विशेष ध्यान दिन जरुरी रहेकोे बताए ।
वन निर्देशनालयका निर्देशक जगरनाथ जैसवालले आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख ५७ हजार ९५१ बिरुवा उत्पादन, ३८४.८३ हेक्टरमा वृक्षरोपण, १७५ हेक्टरमा रहेको अतिक्रमण हटाउन सफल र राजस्व सङ्कलन रु १२ करोड ८९ लाख ९९ हजार रहेको उनले जानकारी दिए ।