Ad Image

गुणस्तरहीन सडक बनाएको भन्दै स्थानीयको विरोध, ठेकेदारको मिक्स्चर र पानीट्यांकर नियन्त्रणमा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/road.jpg

सिरहा । जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मंगलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबीचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग गरिएको आरोप लगाएका छन् । “माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको छ । सोमबार बिहानै अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुट्ने देखियो”, स्थानीय रामकुमार यादवले भने । 

सिरहा नगरपलिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवका अनुसार गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरिएको छ । निर्माण व्यवसायीको मिक्स्चर र पानीट्याङ्कर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । 

निर्माण कम्पनीका साइट इञ्जिनियर सञ्जीव साहले मजदुरको त्रुटिका कारण समस्या भएको स्वीकार गरे । उनले अब प्राविधिक परीक्षण गरिने जानकारी दिँदै भने, “आइतबार रातिको ढलानमा घोल्दा गल्तीले छिटो जम्ने केमिकल बढी प्रयोग भएको हो । निर्माण सामग्रीको अनुपात नमिलेको होइन ।”

योजनाअन्तर्गत सिरहा सदरमुकामबाट माडरसम्मको एक हजार ३०० मिटर सडकमा दुवैतर्फ वर्षा यामको पानीको निकासका निम्ति नाला निर्माण, ग्राभेल, माटो भर्ने, आरसिसी ढलान र विद्युत् पोल सार्ने कार्य समावेश छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालयले रु छ करोड ५८ लाख ५३ हजार ८१० मा यो सडक निर्मााणको सम्झौता भएको हो ।