हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती, स्थानीय मर्कामा


गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–१ स्थित हरिचोक–याम्दी २२ सय मिटर सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।
वि.सं. २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले ठेक्का लिएको उक्त सडकको काम निर्माण कम्पनीको लापरबाहीका कारण समयमा पूरा हुन सकेको छैन ।
पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीका अनुसार, हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति मात्र भएको छ ।
गत वैशाख दोस्रो साताबाट अस्फाल्ट प्रविधिबाट कालोपत्रे सुरु गरिए पनि पहिलो चरणको काम अझै नसकिएको र दोस्रो तहको कालोपत्रे, सडक मार्किङ, सौन्दर्यीकरणलगायतका काम बाँकी रहेको छ ।
वर्षाका कारण काम प्रभावित भए पनि आगामी आर्थिक वर्षभित्रमा काम पूरा हुने इन्जिनियर सुवेदीले बताएका छन् ।
विद्युत् पोल, खानेपानी व्यवस्थापन र भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माण प्रभावित भएको इन्जिनियर सुवेदीले औंल्याए ।
दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि काम पूरा नभएपछि दुई पटकसम्म म्याद थपिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्न खोजे पनि निर्माण कम्पनीले काम तीव्र पार्ने प्रतिबद्धता जनाएपछि म्याद थपिँदै आएको हो ।
स्थानीयवासी र यातायात व्यवसायीहरू लामो समयदेखि मर्कामा परेका छन् । सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जाम र दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ ।
गत वर्ष असार १५ मा स्थानीयवासीले सडकमै रोपाइँ गरेर दबाबमूलक कार्यक्रमसमेत गरेका थिए ।