‘उज्यालो नेपाल अभियान’ चलाउँदै कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा व्याप्त निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका छन् ।
बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गरे ।
घिसिङका अनुसार, यो अभियानको मुख्य उद्देश्य देशमा आशा र आत्मविश्वास जगाउनु हो । उनले भने, ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन, यो हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो।’
उनले यो अभियानले राम्रो काम गर्न चाहनेहरूका लागि बलियो शक्ति निर्माण गर्ने र असल नेतृत्व जन्माउन दबाब सिर्जना गर्ने बताए । स्थापित राजनीतिक दलहरूले असल नेतृत्व दिन नसके यसै अभियानभित्रबाट नयाँ नेतृत्व जन्माउन सकिनेतर्फ समेत उनले संकेत गरे ।
घिसिङले देशमा राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुको सट्टा अपमानित गर्ने र पदबाट हटाउने गलत प्रवृत्ति हावी भएकोमा कडा आलोचना गरे । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘लोडसेडिङ अन्त्य गर्ने, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने र भारतमा बिजुली निर्यात गर्ने जस्ता कामको पुरस्कारस्वरूप मलाई बर्खास्त गरियो।’ पछिल्लो समय अघोषित लोडसेडिङ बढेको र विद्युत प्राधिकरण संकटमा रहेको भन्दै गलत प्रचार भइरहेकोमा उनले दुःख व्यक्त गरे ।
हालै खाडी मुलुकको भ्रमणबाट फर्केका घिसिङले त्यहाँ ऊर्जाशील नेपाली युवाहरूले पसिना बगाएर अरूको देश बनाइरहेको तर आफ्नो देशको भविष्यबारे चिन्तित रहेको बताए । उनले खाडी मुलुकको समृद्धि प्राकृतिक स्रोत र असल नेतृत्वका कारण सम्भव भएको बताउँदै नेपालमा सम्भावना भएर पनि नेतृत्वकै कारण विकास हुन नसकेको औंल्याए ।