Ad Image

भूमिमन्त्रीको प्रष्टोक्तिः ‘अडिओ मसँग सम्बन्धित छैन, मलाई फसाउने खेल हो’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1713833c-5d2a-4a46-88b6-348e771ecabe.jpeg

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो क्लिप आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन् । मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो कुरा बताएका हुन् ।

पोखराको जग्गा प्रकरणमा विवादमा मुछिएका मन्त्री अधिकारीले अडियोबारे स्पष्ट पार्दै भने, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्। मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट प्रष्ट हुनुहुन्छ।’

उनले यसलाई चरित्र हत्या गर्ने प्रयास भएको पनि बताए । उनले भने, ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ। त्यसपछि यी कुराहरू बाहिर आए।’

पोखराको १३५ रोपनी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहित नयाँ अडियो क्लिप सार्वजनिक भएपछि मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेका हुन् ।

यसअघि, यसै प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । नयाँ अडियोमा मन्त्री अधिकारी, उनका छोरा मनोज, पूर्वमन्त्री गुप्ता र तत्कालीन सचिव अर्जुन पोखरेल लगायतको नाम जोडिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ, जसमा कुल डेढ करोड खर्च भएको उल्लेख छ ।