Ad Image

श्रमिकको न्यूनतम पारिश्रमिक साढे १९ हजार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000072810.jpg

काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको त्रिपक्षीय बैठकमा यो सहमति जुटेको हो ।

श्रम ऐन, २०७४ को व्यवस्था अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्छ । यसअघि यो १७ हजार ३०० रुपैयाँ थियो । आजैदेखि लागू हुने गरी भएको सहमतिअनुसार, मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ता ७ हजार ३८० रुपैयाँ हुनेछ । 

दैनिक आधारमा आधारभूत पारिश्रमिक ४७० रुपैयाँ र महङ्गी भत्ता २८४ रुपैयाँ तोकिएको छ भने प्रतिघण्टा आधारभूत पारिश्रमिक ६३ रुपैयाँ र महङ्गी भत्ता ३८ रुपैयाँ हुनेछ ।

आंशिक समय काम गर्ने कामदारका लागि प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ तोकिएको छ । यो सहमति चिया बगानबाहेकका श्रमिकमा लागू हुने मन्त्रालयले जनाएको छ ।

सहमतिपछि श्रममन्त्री शरत्सिंह भण्डारीले सबै पक्षलाई धन्यवाद दिँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक प्रदीप कोइरालाले लामो छलफलपछि सहमति जुटेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिलाई स्वागत गर्दै यो पारदर्शी र सन्तुलित भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि जनक चौधरीले यसलाई श्रमिक वर्गको जित भन्दै कार्यान्वयनको सशक्त निगरानी गरिने उल्लेख गरे ।

यो सहमति नेपाली श्रम क्षेत्रलाई न्यायपूर्ण, मर्यादित र व्यवस्थित बनाउने दिशामा एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।