एमाले बैठक: विद्या भण्डारीका विषयमा छलफल, सदस्यता नवीकरण 'पेन्डिङ'मा


काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङ (स्थगित) मा राखेको छ । शुक्रवार र शनिवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार भण्डारीको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा रहेको र पार्टीले पछि निर्णय गर्नेछ । ‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ’, उनले भनेका छन् ।
‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौँ भन्नुभएको छ’, गौतमले भने ।