Ad Image

म्याग्दी, पर्वत र कास्की जोड्ने जलजला पदमार्ग निर्माण

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Jaljala Traking root (1).jpg

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । यो पदमार्ग कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानीसम्मको पदयात्रामा समेटिएको छ ।

गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटमा पर्वतको मोदी गाउँपालिका–१ माटेबाट जलजलासम्म २ किलोमिटर लामो ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित यो योजनामा तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनले जानकारी दिए ।

‘परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रूपान्तरण गरिएको हो,’ पुनले भने, ‘बस्तीबाट टाढा भए पनि चार महिनासम्म मजदुरहरू निर्माणस्थलमै बसेर काम गरेका थियौँ।’ यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल पनि थपेको छ ।

समुद्री सतहबाट ३,३०० मिटर उचाइमा रहेको माटेबाट २,००० मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। मृग लगायतका जंगली जनावर पनि देख्न सकिन्छ ।

यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या थियो । पदमार्गले यात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । उनले आव २०८२÷८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख रुपैयाँ बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने जानकारी दिए । यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो ।

हिन्दू धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्त स्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडका बीचमा रहेको सीम क्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ । म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पुगेको छ ।