Ad Image

सांसद राई भन्छिन्– ‘भ्रष्टाचार घटाउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ’

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Maya_Rai-samsad-samsad-1024x660.jpg

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद माया राईले देशको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबारे आफ्नो धारणा राखेकी छन् । उनको अधिकांश समय संसदीय गतिविधिमा बित्ने भए पनि जिल्लाका समस्याहरू सदनमा राखेपनि कार्यान्वयन पक्ष कमजोर रहेको उनले गुनासो गरिन् ।

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन् । हालको निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएकाले यसले भ्रष्टाचारलाई प्रोत्साहन गरेको उनको भनाइ छ । पूर्ण समानुपातिक प्रणालीले राज्यको खर्च कम गर्ने र देश विकासलाई गति दिने विश्वास उनको छ ।

सांसदले बजेट विनियोजनमा प्रत्यक्ष र समानुपातिक सांसदबीच हुने विभेद अन्त्य गरिनुपर्ने माग गरिन् । उनले संविधान कार्यान्वयन आम रूपमा भए पनि सीमान्तकृत समुदायको हकमा पूर्ण हुन नसकेको बताइन् । 

नयाँ नागरिकता ऐनमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था सकारात्मक भए पनि, संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता कार्यान्वयन भए पनि सरकार र न्यायपालिकालगायत अन्य राज्य संरचनामा महिलाको सहभागिता कमजोर रहेको औँल्याइन् । महिलाको जनसङ्ख्याका आधारमा सबै संरचनामा सहभागिता हुनुपर्ने उनको माग छ ।

समानुपातिक–समावेशी व्यवस्था लक्षित समुदायसम्म पुग्न नसकेको र राजनीतिक दलको नेतृत्व तहमा महिला सहभागिता नभएको भन्दै उनले पार्टीहरूले महिलालाई प्रत्यक्ष निर्वाचनमा बढी टिकट दिनुपर्ने र महिलाका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्ने आवश्यकता औँल्याइन् ।

युवा पलायन रोक्न रोजगार केन्द्रित र गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिँदै उनले सरकारी विद्यालयको सुधार र शिक्षकहरूको राजनीतिक आबद्धता अन्त्य हुनुपर्ने बताइन् ।

भोजपुरलगायत जोडिएका जिल्लाहरूमा पानीको मुहान कम भएकाले प्राकृतिक रूपमा उत्पादन गर्न सकिने बालीको अध्ययन गरी राज्यले सोहीअनुसार लगानी गर्नुपर्ने उनको सुझाव छ ।