Ad Image

निर्धारित समयभन्दा ५ महिना अगावै पुल निर्माण सम्पन्न

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Pul nirman photo.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिनाअगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि यो पुल समयमै बनेको हो ।

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत २ करोड ८० लाख ५९ हजार ९७९ रुपैयाँको लागतमा डबल सेल बक्स डिजाइनको पुल निर्माण गरिएको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । 

२०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मीले ठेक्का सम्झौता गरेको थियो । यो पुल निर्माणसँगै प्रसिद्ध तीनखोले मन्दिर जाने बाटोमा आवतजावत सहज भएको छ । 

यसअघि कुम्लेखोलामा पक्की पुल नहुँदा बर्खामा स्थानीयवासी र भक्तजनले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता थियो, जुन अब अन्त्य भएको छ ।

निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेकोमा स्थानीयवासी खुसी छन् । पुलको शनिबार प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले उद्घाटन गरेका थिए ।