Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

क्याबिनेटमा ओलीको ब्रिफिङ : 'एमाले-कांग्रेस सहकार्य कायमै, सरकार परिवर्तनको हल्ला निराधार'

User Image मेयरसाप डेस्क | २०८२ साउन २ गते २२:०९
Image of https://mayorsap.com/storage/photos/10/PMOFC-WhatsAppImage2025-07-20at7.13.45PM(1).jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सरकार परिवर्तनबारे सार्वजनिक भएका हल्लाहरू निराधार रहेको स्पष्ट पारेका छन् ।

करिब डेढ घण्टा चलेको नियमित बैठकमा प्रधानमन्त्री ओलीले सत्तारूढ मुख्य घटक नेपाली कांग्रेससँगको सम्बन्धमा कुनै समस्या नआएको बताए । एक मन्त्रीका अनुसार, ओलीले अबको ११ महिनापछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र देउवासँग आफू निरन्तर संवादमा रहेको बताए ।

“देउवाजीसँग निरन्तर सम्पर्कमै छु। हरेक गतिविधि सरसल्लाहमै भइरहेको छ,“ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीहरूले भने, “हामी पूर्ववत् सहमतिअनुसार अघि बढ्ने कुरामा टसमस भएका छैनौं।” उनले मन्त्रीहरूलाई सक्रिय भएर काम गर्न पनि निर्देशन दिए ।

सोही क्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नामै लिँदै “शेखर कोइराला लगायत कांग्रेसका केही नेताहरू हामीसँग यति सांसद छन् भन्ने तरिकाले अघि बढेको पनि देखिएको छ, तर उहाँलाई विपक्षीहरूले उक्साइरहेका छन्। अहिले केही हुनसक्ने अवस्था छैन” भनेको एक मन्त्रीले बताए ।

दिउँसो पार्टी कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको ‘वान टु वान’ वार्ता बारे पनि ओलीले बैठकमा केहीबेर बोलेका थिए । उनले केही नेताहरू विपक्षीसहितको साथ लिएर पूर्वराष्ट्रपतिलाई अघि बढाउन हिँडेको भए पनि त्यस्तो सम्भव नहुने बताए ।

‘हामी पार्टीभित्र एकढिक्का छौं। आजको भेटघाटले त झनै बलियो बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले थपे, ‘पार्टी फुटेर भन्दा पनि जुटेरै अघि बढ्ने कुरा भएको छ। आजको भेटघाट महत्त्वपूर्ण नै रह्यो।’


Facebook Comments