कर्मचारी सरुवाको मापदण्ड कडाइका साथ लागू गरिन्छ : मन्त्री न्यौपाने


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापना र काज सरुवासम्बन्धी मापदण्डलाई समयसापेक्ष परिमार्जन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयका सचिव र सहसचिवहरूसँगको भेटमा उनले कामलाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउन यथाशीघ्र राय सुझाव पेस गर्न भनेकी छन् ।
न्यौपानेले विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको भन्दै अब ती मापदण्डलाई कडाइका साथ लागू गरिने बताइन् । उनले कर्मचारी सरुवालाई पूर्वानुमानयोग्य बनाउन पनि निर्देशन दिएकी छन् ।
यसैगरी, मन्त्री न्यौपानेले निजामती कर्मचारीहरूको गुनासो सुन्नका लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्ने पनि जानकारी दिएकी छन् ।