जिल्ला अदालत काभ्रेद्वारा ९२ प्रतिशत मुद्दा फछ्र्यौट


काभ्रे । जिल्ला अदालत काभ्रेद्वारा बितेको आर्थिक वर्ष २०८१\८२ मा ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । उक्त आवमा अदालतबाट दुई हजार ३२० मुद्दा फछ्र्याैट लक्ष्य राखिएकामा दुई हजार १२९ अर्थात् ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछ्र्याैट भएको जनाइएको हो ।
सो अवधिमा एक हजार ३५८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए । तीसँगै गत आवमा दर्ता भएका दुई हजार २३३ गरी कुल तीन हजार ५९१ मुद्दा रहेकामा दुई हजार १२९ फछ्र्याैट भएको र एक हजार ४६२ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको कार्यालयका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।
उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । त्यसमा ६३७ सम्बन्धविच्छेद, चेक अनादरका २४५, अंश चलनका ३३१, भरणपोषण ९८, जबर्जस्तीकरणीका ४४ र अन्य ८७८ रहेका छन् ।
यसैगरी, मेलमिलापमा पठाउने मुद्दाको लक्ष्य एक हजार ५६१ रहेकामा २६ दशमलव २५ प्रतिशत अर्थात् जम्मा २९६ पठाइएको जनाइएको छ । मेलमिलाप भएका ७८, मेलमिलाप हुन नसकेका १८५ र मेलमिलाप प्रक्रियामा बाँकी रहेको ३३ मुद्दा रहेको अदालतले जनाएको छ ।
अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँट गर्दै सुनुवाइ गर्ने गरेको छ । छ महिनाभित्र सुनुवाइ गर्नुपर्ने सरल मार्गका मुद्दा हुन् भने एक वर्षभित्र र १८ महिनाभित्र सक्नुपर्ने मुद्दा सामान्य तथा विशेषअन्तर्गत पर्छन् ।
अदालतले लक्ष्यअनुसार मुद्दा फछ्र्याैट हुन नसक्नाका कारणमा मुद्दाको मार्गबमोजिमका फाँट निर्धारण र स्वचालित पेसी व्यवस्थापन गर्दा अलमल हुनुलाई मुख्य मानेको जनाएको छ ।
भदौमा न्यायाधीशको सरुवा, तालिम तथा न्यायाधीश बिदामा बस्नु परेको तथा वादी–प्रतिवादीले तारेख गुजार्ने र पेसी स्थगित गर्नुपर्ने कारणले पनि मुद्दा फछ्र्याैटमा कमी भएको देखिएको अदालतले जनाएको छ ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश मातृकाप्रसाद आचार्यका अनुसार विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएका नमूनाको परीक्षण प्रतिवेदन समयमा नआउने र सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपुर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्ब हुने गरेकाले पनि मुद्दा फछ्र्याैटको लक्ष्य पूरा हुन नसकेको हो ।
अदालतले आव २०७९\८० मा ६५ दशमलव ३३ प्रतिशत, २०८०\८१ मा ५८ दशमलव ७९ र गत आर्थिक वर्ष २०८१\८२ मा ५९ दशमलव २८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको थियो ।