Ad Image

८० अंकले बढ्यो नेप्से, २० अर्ब बढीको कारोबार

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepsenepse.jpg

काठमाडौं । मंगलबार सेयर बजारमा ८०.९७ अंकको उच्च वृद्धि देखिएको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ, जुन गत भदौ २ गतेयताकै उच्च विन्दु हो । गत भदौ २ गते नेप्से ३ हजार अंक पुगेको थियो ।

कारोबार सुरु भएदेखि बजार बन्द नहुन्जेलसम्म निरन्तर उकालो लागेको थियो । अघिल्लो दिनको १६ अर्ब ३२ करोडको तुलनामा आज २० अर्ब ८ करोड रुपैयाँको कारोबार भयो, जसले बजारमा लगानीकर्ताको उत्साह बढेको संकेत गर्छ ।

कुल २३६ कम्पनीको मूल्य बढ्दा १४ कम्पनीको मात्र घट्यो। यस दिन उत्पादन तथा प्रशोधन (४.६३%), जीवन बीमा (४.३६%), र माइक्रोफाइनान्स (४.०७%) समूह ४ प्रतिशतभन्दा धेरैले बढे । अन्य समूहहरू जस्तै बैंकिङ (२.१०%), विकास बैंक (२.२६%), फाइनान्स (१.९४%), होटल तथा पर्यटन (३.४४%), हाइड्रोपावर (१.९०%), लगानी (३.२४%), निर्जीवन बीमा (२.५६%), अन्य (३.२६%) र व्यापार (१.०१%) पनि बढेका छन् ।

ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्टको मूल्य १० प्रतिशतले बढ्यो । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । ट्रेड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा र सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।

उन्नति सहकार्य लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, सोनापुर सिमेन्ट, र इनिफिनिटी लघुवित्तको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप रहेका छन् ।

बजारको कुल पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो आकार हो । बजार बढ्दै जाँदा अब पूँजीकरणमा दिनदिनै नयाँ रेकर्ड बन्ने सम्भावना छ ।