Ad Image

४७औं पुष्पलाल स्मृति सप्ताह : मोरङको बेलबारीमा वृक्षारोपण

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samajamaa.jpeg

मोरङ । नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला समितिले ४७औं पुष्पलाल स्मृति सप्ताह मनाउने क्रममा आज मोरङको बेलबारी नगरपालिका–४ स्थित देवीथान सामुदायिक वनमा फलफूलका बिरुवा वृक्षारोपण गरेको छ ।

जंगली जनावरलाई वनमै खानेकुराको उपलब्धता सुनिश्चित गरी सडक दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले फलफूलका बिरुवा वृक्षारोपण गरिएको हो ।

एकीकृत समाजवादीका जिल्ला कमिटी उपाध्यक्ष दीपक ढकालका अनुसार, जंगलमा खानेकुराको अभाव हुँदा जंगली जनावर सडकमा आउने र दुर्घटना निम्तिने गरेकोले यसलाई न्यूनीकरण गर्न फलफूलका बिरुवा रोपिएको हो ।

आजको कार्यक्रममा तीन सय फलफूलका बिरुवा रोपिएको थियो । आगामी पुष्पलाल स्मृति सप्ताहमा मोरङका राजमार्गसँग जोडिएका सामुदायिक वनहरूमा थप २७ सय फलफूलका बिरुवा रोपिने ढकालले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा वयोवृद्ध कम्युनिस्ट नेता हर्कमान तामाङ प्रमुख अतिथि थिए भने प्रदेश अध्यक्ष सरिता खड्का, केन्द्रीय सदस्य सेवन्त राज भण्डारीलगायत प्रदेश कमिटी तथा जिल्ला कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।