काठमाडौं महानगरका निर्देशक अधिकारी ५० हजार धरौटीमा रिहा


काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका काठमाडौं महानगरपालिकाका निर्देशक डा. शिवराज अधिकारीलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
सामखुसी कोरिडोर अन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको अभियोगमा अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो ।
मंगलबार अदालतमा हाजिर भई बयान तथा थुनछेक बहसपछि न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
यस मुद्दामा प्रतिवादी बनाइएका सातै जनाको बयान तथा थुनछेक बहस सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो ।