पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री र विचौलियामाथि छानबिन गरौं: नेता कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।
उक्त प्रकरणमा जोडिएका एमालेका २ मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको बताएका छन् ।
‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन’ बुधबार सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानबिन गरौं, भूमि विधेयकमा समितिमा गहन छलफल गरौं ।’
पोखरा जग्गा प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले केही दिन अघि पदबाट राजीनामा दिइसकेका छन् । तर सोही प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने अहिलेसम्म राजीनामा दिएका छैनन् । जसको चौतर्फी विरोध भइरहेको छ ।