भेरी नदीमा टिपर खस्दा चालकसहित ३ जना बेपत्ता


सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४, पिपलचौरस्थित भेरी नदीमा मंगलबार राति एक टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको उक्त टिपर नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए, उनीहरूको अवस्था अज्ञात छ ।
बेपत्ता भएकाहरूको खोजीका लागि रुकुम पश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको भए पनि भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।