पौवादुङमा गाउँपालिकाले १२ जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने


भोजपुर । पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले १२ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
गाउँपालिकाले तीनवर्षे सिभिल इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको उनको भनाइ छ ।
गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा लिनबाट वञ्चित नबनून् भन्नका लागि सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको उनले बताए ।
“अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, अध्यक्ष राईले भने, “आर्थिक अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन भन्नका लागि १२ जना विद्यार्थीलाई सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दैछौँ । यहाँ आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”