पुष्पलाल : ‘सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी’


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वको धनी भएको बताएका छन् ।
आज च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा उनले समाज बदल्ने सपना बोकेकाहरूले पुष्पलालका विचार अनुसरण गर्नुपर्नेमा जोड दिए ।
ओलीले पुष्पलालले सिद्धान्त छोडेर भाग्ने वा विरोधीसँग दुनो सोझ्याउने काम कहिल्यै नगरेको स्पष्ट पारे । ‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो। उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले पुष्पलाल जात र धर्मबाट माथि उठेर आफ्नो थरमा ’श्रेष्ठ’ नलेखेको प्रसंग उल्लेख गर्दै उनी नेपालमा कम्युनिष्ट सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता भएको बताए । उनले पुष्पलालकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन नहुनेमा जोड दिए ।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्ल माक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’को पहिलो पटक नेपाली अनुवाद गरेका थिए ।
उनको नेतृत्वमा विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक नेकपा स्थापना भएको थियो । उनको निधन विसं २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा भएको थियो ।