Ad Image

मुस्ताङको लुम्बुक झरना पर्यटकको पर्खाइमा

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/DSC06431.JPG

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ, तर पछिल्लो तीन वर्षयता हिउँ नपर्दा यसको पानीको बहाव निकै घटेको छ । समुन्द्री सतहबाट करिब ४,५०० मिटर अग्लो विशाल चट्टानी पहाडको गल्छीबाट बग्ने यो झरना हिउँदमा पूरै बरफ बनेर सेताम्मे हुन्छ, जबकि बर्खामा हावासँगै बतासिएर इन्द्रेणी रूपमा देखिन्छ ।

वडाध्यक्ष सुरेन्द्र गुरुङले हिउँ नपरेकाले झरनाको पानीको स्रोत सुक्दै गएकोमा चिन्ता व्यक्त गरे । यसले कृषि र पर्यटन विकासमा ठूलो चुनौती थपेको उनको भनाइ छ। “हिउँदमा हिउँ परेको भए पहाडमा जमेको हिउँ पग्लिएर पानीको स्रोतमा थपिन्थ्यो, तर केही वर्षदेखि हिउँ पर्न सकेको छैन,“ वडाध्यक्ष गुरुङले भने ।

लुम्बुक झरनालाई पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्य राखिए पनि पानीको स्रोत घट्नुले पर्यटन प्रवद्र्धनमा समस्या परेको छ । वारागुङ मुक्तिक्षेत्र–५ स्थित फल्याक र धाकार्रजुङ गाउँबीचको लुम्बुक खोलाको मुहान नै यो झरना हो, जहाँ थप दुई साना झरना पनि छन् । जोमसोमबाट फल्याक गाउँसम्म सवारी साधनमा आधा घण्टा र त्यहाँबाट झरनासम्म करिब एक घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ ।

यहाँबाट नीलगिरि हिमाल र आसपासका मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । झरनाको शिखरबाट हावाले बतासिएको पानीको फोहरा खस्दा रोमाञ्चक अनुभूति हुने स्थानीय निरज थकालीले बताए ।

गाउँपालिका अध्यक्ष रिङजिननामगेल गुरुङका अनुसार, गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करिब तीन किलोमिटर गोरेटो बाटो निर्माण गरेको छ । यस स्थानमा झरना मात्र नभई गुरु पद्मसंभवले ध्यान साधना गरेको ऐतिहासिक तथा धार्मिक गुफासमेत रहेकाले पर्यटन विकासमा प्रचुर सम्भावना रहेको उनले बताए ।