धरान जग्गा विवाद : बीपी प्रतिष्ठानले फर्कायो मेयर साम्पाङलाई जवाफ

No Author Assigned | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hark-bp.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरानको पुरानो अस्पतालको जग्गा सुटुक्कै लगेको भन्दै फिर्ता मागेपछि प्रतिष्ठानले त्यसको जवाफ फर्काएको छ । बुधबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त जग्गा विधिसम्मत तरिकाले नामसारी भएको र यो आम धरानबासीको सम्पत्ति भएको बताएको छ ।

प्रतिष्ठानका अनुसार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ अनुसार प्रतिष्ठान स्थापना भएपछि २०४८ मा तत्कालीन सरकारको निर्णयबाट धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी भएको हो ।

विगतमा पुरानो धरान अस्पतालमा ओ.पी.डी. सेवा सञ्चालन भए पनि धरान नगरवासीको प्रतिष्ठानमै सेवा लिने चाहना र बिरामी संख्या घट्दै गएपछि सेवा स्थगन गरिएको प्रतिष्ठानले स्पष्ट पारेको छ ।

प्रतिष्ठानले मेयर साम्पाङले (जो प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्का सदस्य पनि हुन्) सुटुक्कै लगेको, हडपेको जस्ता शब्द प्रयोग गरेर जनसमुदायलाई भ्रमित पारेकोमा आपत्ति जनाएको छ । प्रतिष्ठानले साम्पाङलाई उक्त भनाइ सच्याउन आग्रह गर्दै जग्गाको भविष्यबारे स्थानीय सरकारबाट कुनै प्रस्ताव वा छलफल आएमा सहकार्य गर्न सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

बुधबार मेयर साम्पाङले प्रतिष्ठानलाई पठाएको पत्रमा लेखेका थिए, “छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी अस्पतालको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनुहोला।” यस पत्रपछि यो विवाद थप चर्किएको हो ।


Facebook Comments