संवैधानिक परिषद् विधेयक फिर्तापछि सभामुख र राष्ट्रपतिबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक’ पुनर्विचारका लागि फिर्ता गरेकोप्रति सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार संविधानको मर्म विपरीत बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । त्यसलगत्तै, शुक्रबार बिहान सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई शीतल निवासमा भेटेर यस विषयमा जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
भेटका क्रममा सभामुख घिमिरेले जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए । सभामुख घिमिरे जुलाई २७ मा उक्त सम्मेलनमा सहभागी हुन जेनेभा जाने कार्यक्रम छ ।