कुलिङ पिरियड छेडखानीमा एमाले जम्मेवार छ, प्रधानमन्त्रीलाई छानबिन गर्नुपर्छ: प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार भएको आरोप लगाएका छन् । शनिवार एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनु पर्ने बताए । शंकाको सुई पहिला पनि प्रधानमन्त्रीतिर सोझिएको तर ठोस रुपमा भन्ने आधार नभएको भन्दै प्रचण्डले अहिले एमालेका सांसदहरुले गरेको गतिविधिबाट र संशोधनबाट एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले यस्तो भएको आरोप लगाए
उनले भने, ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउँ गरि छाड्यो भने जस्तै एमालेले म्याउँ गरि नै हाल्यो।’