१६ जना हायु परिवार हराएको घटनाः ऋणको तनावले परिवार भागेको हुनसक्ने आशंका

No Author Assigned | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/525333215_24109873298673822_7758211068666732808_n.jpg

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ६ का हायु परिवारका १६ जना हराएको घटनामा ऋणको तनाव हुनसक्ने आशंका स्थानीयबासीहरूले गरेका छन् ।

वडा नम्बर ६ का अध्यक्ष रबिनकुमार श्रेष्ठका अनुसार हायु परिवारले केही समयअघि तीन महिनाको भत्ता निकालेर भत्ता नबिकरण गरेका थिए । अध्यक्ष श्रेष्ठका अनुसार गएको बिहीबार उनीहरूमध्ये केही खुर्कोट बजारमा देखिएको स्थानीयबासीले जानकारी गराएका छन् ।  शुक्रबारदेखि उनीहरू घरमा नआएको आशंका गरिएको छ ।

घरमा भएका कुखुरा र बाख्रा खुल्लै छाडेको अवस्थामा भेटिएको छ । घरमा फुसको छानो भएको भान्साजस्तो ठाउँमा आगलागी भएको देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए  । घरमा खाने भाडाहरु छरपष्ट अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । भैँसी भने केही पर अर्को छिमेकीको गोठसँगै बाँधेको अवस्थामा भेटिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

छिमेकीका बस्तुसँगै भैँसी बाँधेकाले छिमेकीले आफ्ना चौपायलाई घाँस हाल्दा अलिअलि घाँस हाल्दिएको तर भैँसीलाई घाँस हाल्न नआएपछि छिमेकी उनको घरमा खोजी गर्न गएका थिए । हायु परिवारको घर जंगलको छेउमा अरु मान्छेहरुको भन्दा २५ मिनेटजति टाढा रहेको छ ।

१६ जना परिवारको तीन महिनाको भत्ता १ लाख ५० हजारभन्दा बढी निकासा भएपछि उनीहरु ऋण उठाउन आउनेहरुका डरले भागेको आशंका स्थानीयबासीहरुको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारले ऋण उठाउन मान्छेहरू आउनेगरेकाे जानकारी छिमेकीहरूलाई गराएका थिए । हायु लाेकउन्मुख जाति भएकाले सरकारले उनीहरूलाई भत्ता दिँदै आएकाे छ । प्रहरीले उनीहरुको लोकेसन ट्रेस गरिरहेको छ ।

दिइएका व्यक्तिहरु मध्ये एकजनाको लोकेसन रामेछाप देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलले पनि हायु परिवारको खोजी गरिरहेको छ । उर्मिला हायु परिवारमा उनका श्रीमानको मृत्यु भइसकेको र ६ जना छोरा, ६ जना छाेरी, बुहारी र नाति रहेको वडाले जानकारी दिएको छ । 

हराएको हायु परिवारका सदस्यहरू
१) बर्ष ५२ की उर्मिला हायु (आमा)
२) बर्ष २७ की कमला हायु (छोरी)
३) बर्ष २३ की कोमल माया हायु (बुहारी)
४) बर्ष २२ की उषा हायु (छोरी)
५) बर्ष १९ की सुजता हायु (छोरी)
६) बर्ष १८ की अस्मिता हायु (छोरी)
७) बर्ष १२ की सान्ता हायु (छोरी)
८) बर्ष २९ को राजु हायु (छोरा)
९) बर्ष २४ को हिमाल हायु (छोरा)
१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) बर्ष ११ को लक्की हायु (छोरा)
१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) बर्ष १ को अर्जुन हायु (नाती)
१६) बर्ष ४ की रियासा हायु ( नातिनी )

याे पनि पढ्नुहाेस्

गोलञ्जोरमा बाख्रा, कुखुरा, भैँसी अलपत्र छाडेर एकै परिवारका १६ जना बेपत्ता

 


Facebook Comments