कांग्रेस बागमती संसदीय दलको नेता चयन गर्न बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक आज बस्दैछ । सोमबार संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन नसकेपछि आज बैठक बस्न लागेको हो । बैठक प्रदेश राजधानी हेटौंडामा बिहान १० बजे बस्नेछ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरूले आफ्नै मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्तावपछि संसदीय दलको नेता टुंगो लगाउन सोमबार दिनभर अनौपचारिक छलफल भएको थियो ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रवार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि अन्योल परिस्थितिमा आइतबारदेखि नै छलफल गरेर मिलाउन भनेर केन्द्रीय समितिबाट राजन केसीलाई केन्द्रीय प्रतिनिधि पठाइएको छ । उनको भूमिकामाथि इन्द्र बानियाँ नेतृत्वको सांसदको समूहले आपत्ति जनाएका थिए ।
मुख्य मन्त्री लामाले हस्ताक्षर गरेका सांसदसहित केही पूर्व मन्त्रीलाई नै पुनः मन्त्री बनाउने आश्वासन दिएर आफ्नो पक्षमा पार्ने कसरत गरेपनि सफल हुन नसकेको कांग्रेस स्रोतले नै बताएको छ ।