बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री खड्काले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले पदबाट राजीनामा दिएका छन् । मन्त्री खड्काले सोमवार साँझ कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् ।
खड्काले राजीनामा दिएर मुख्यमन्त्री लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । योसँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ भने लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।
यसअघि शुक्रवार प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए।
अहिले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् ।