गलकोटमा ‘हाम्रो टिम गलकोट’द्वारा सरसफाइ अभियान तीव्र


गण्डकी । बागलुङको गलकोट नगरपालिकामा ‘हाम्रो टिम गलकोट’ नामक स्वयंसेवी समूहले सडक, पुल, नाला, चौतारा र मन्दिरसहितका सार्वजनिक स्थलहरूको सरसफाइ अभियान चलाएको छ ।
गत असार ७ गतेदेखि हरेक शनिबार युवा, समाजसेवी र पेसाकर्मीहरू एकजुट भई सरसफाइसँगै सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
अभियानका संयोजक दीपक शर्मा पौडेलका अनुसार, पहिलो शनिबार गौँदीखोला पुल, दोस्रो शनिबार दरमखोला पुल, तेस्रो शनिबार नरेठाँटीको पुल, चौथो शनिबार रजराको ऐतिहासिक चौतारो र साउनको पहिलो शनिबार नगरपालिका कार्यालय जोड्ने सडक र नाली सरसफाइ गरिएको थियो ।
पौडेलले वर्षौंदेखि मर्मत र सरसफाइ नहुँदा कुरूप बनेका संरचनाहरू सरसफाइपछि सफा भएको बताए । घरबाटै औजार लिएर स्थानीय बासिन्दा सरसफाइमा जुट्ने गरेका छन् ।
सुरुमा पाँच जनाबाट सुरु भएको यो अभियानमा अहिले करिब ५० जना आबद्ध छन् । समुदायमा सरसफाइप्रतिको जनचेतना बढाउन यो अभियान सुरु गरिएको संयोजक पौडेलले बताए ।