Ad Image

संसदीय दलको नेताका लागि लामा र बानियाँ दोस्रो पटक भिड्दै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bahadur-indra baniya.jpg

काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेताका लागि वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेशसभा सदस्य इन्द्र बानियाँबीच दोस्रो पटक प्रतिस्पर्धा हुने भएको छ ।

गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबार विश्वासको मत गुमाएका मुख्यमन्त्री लामाले आज संसदीय दलको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार तथा समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी रहेका छन् । यसअघि नै उम्मेदवारी दर्ता गराएका बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ छन् ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार, उम्मेदवारहरूको प्रारम्भिक नामावली बिहान ११ः३० बजे प्रकाशन गरिनेछ, दिउँसो १२ बजेसम्म नाम फिर्ता लिने समय छ, र दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हेटौँडास्थित कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा हुनेछ। मतदान सकिएलगत्तै परिणाम घोषणा गरिनेछ ।

२०७९ को निर्वाचनलगत्तै भएको संसदीय दलको निर्वाचनमा पनि लामा र बानियाँबीच नै प्रतिस्पर्धा भएको थियो, जसमा लामा विजयी भएका थिए ।