गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ ठमेलबाट पक्राउ, गगन थापासँगको निकटताबारे चर्चा


काठमाडौं । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ, जो ‘सानुभाइ’को नामले पनि परिचित छन् । उनी बुधबार राति ठमेल क्षेत्रबाट समातिए । काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार, ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, ‘सानोभाइ’को आपराधिक पृष्ठभूमि लामो छ । प्रहरी रेकर्डअनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहका सक्रिय सदस्य थिए । घैंटे २०७२ भदौ ३ मा प्रहरी मुठभेडमा मारिए । घैंटे प्रहरी मुठभेडमा मारिएपछि पनि ‘सानोभाइ’को गतिविधिमा कमी आएन ।
त्यसपछि गुरुङ ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए । प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २०७२ पुस २५ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्भर र एउटा गोलीसहित बुलेट प्रुफ ज्याकेट लगाएको अवस्थामा पक्राउ परेका थिए । उनलाई पटक–पटक कुटपिट, असुली र हातहतियार मुद्दामा पक्राउ गरिएको छ, तर प्रत्येक पटक उनी चाँडै रिहा हुने गरेका छन् ।
गत वर्ष २०८० असारमा ठमेलको ओम्निया क्लबका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला त उनलाई प्रहरीले हतकडीसहित ठमेल बजार घुमाएको थियो, तर पछि १० हजार रुपैयाँ धरौटीमा छुटाइएको थियो । गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्ने र छुट्ने क्रम जारी थियो ।
उनी २०६७ कात्तिक ७ मा गोंगबुमा मिलन लामालाई धारिलो हतियार प्रहार गरेको र २०७७ कात्तिक २६ मा ताज भनिने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको घटनामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
गुण्डागर्दीमा बारम्बार संलग्न भई पक्राउ पर्ने र तत्काल रिहा भइहाल्ने ‘सानोभाइ’ भनिने युवराज गुरुङको राजनीतिक दलका उच्च पदस्थ नेताहरूसँगको निकटताकै कारण यस्तो भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
विशेषगरी, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग ‘सानोभाइ’को नजिकको सम्बन्ध रहेको समाचारहरू सार्वजनिक भएका छन् । २०७७ फागुन ७ गते नुवाकोटको बीपी स्मृति भवनको उद्घाटन समारोहमा ‘सानोभाइ’ले आफ्नै खर्चमा गगन थापालाई हेलिकोप्टरमा लगेको थिए । त्यस घटनाले पनि उनीहरूको निकटताबारे थप स्पष्ट पारेको छ ।
यसरी राजनीतिक दलका उच्च पदस्थ नेताहरूसँगको निकटताकै कारण ‘सानोभाइ’ जस्ता व्यक्तिहरूले बारम्बार सजिलै उन्मुक्ति पाइरहेको भन्ने जनधारणा थप बलियो बन्दै गएको छ ।
पटक–पटक पक्राउ पर्दा पनि उनीमाथि कडा कारबाही हुन सकेको छैन । राजनीतिक दल र नेताहरूले यस्ता व्यक्तिहरूलाई संरक्षण दिँदा समाजमा आपराधिक गतिविधि बढ्ने र नागरिकमा न्यायप्रति विश्वास घट्ने खतरा रहेको जानकारहरू बताउँछन् ।