प्रेस युनियनको ‘१०० दिने सदस्यता विशेष अभियान’ सुरु


काठमाडौं । नेपाल प्रेस युनियनले १०० दिने सदस्यता विशेष अभियान सुरु गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार आज काठमाडौँ शाखाबाट औपचारिक रूपमा यो अभियानको शुभारम्भ गरिएको हो ।
अभियानको सुरुवात प्रेस युनियनका अध्यक्ष शिव लम्साल, पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही र प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले आफ्नो सदस्यता नवीकरण गरेर गरेका थिए ।
यो अभियान साउन १४ देखि कात्तिक २१ गतेसम्म चल्नेछ । यसबाट पुराना सदस्यतालाई व्यवस्थित गर्नुका साथै क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता दिइने युनियनका अध्यक्ष लम्सालले जानकारी दिए।
सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ । यो अभियान सञ्चालन गर्न ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर पठाइएको युनियनले जनाएको छ ।