लागूऔषध नियन्त्रण ब्यूरोलाई विभाग बनाइनेछ : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशलाई लागूऔषधमुक्त बनाउन प्रभावकारी काम गर्नुपर्ने बताएका छन् । उनले लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमजस्ता अपराध बढाएको भन्दै यसका विरुद्धको ’महाअभियान’लाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
एक वर्षभित्र लागूऔषध नियन्त्रणमा प्रगति भएको बताउँदै गृहमन्त्री लेखकले स्रोत साधनको कमी भए पनि काम गर्न सकिने उदाहरण यस अभियानले देखाएको उल्लेख गरे । विशेष गरी युवाहरूमा देखिएको लागूऔषधको लत देशको भविष्यका लागि ठूलो चुनौती भएको उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण ब्युरोलाई विभागकै रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसका लागि तयारी अगाडि बढाउन उनले प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । महानिरीक्षक थापाले गृहमन्त्रीको यो प्रस्तावको प्रशंसा गरेका छन् ।