Ad Image

बागमती नगरपालिकाका मेयर थापाविरुद्धको मुद्दामा सुनुवाइ जारी

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bharat thapa1.jpg

काठमाडौं। सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको मुद्दामा आज विशेष अदालतमा सुनुवाइ भइरहेको छ । साेमवार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते थापाविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मेयर थापाविरुद्ध २०८० चैत २७ मा ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा पहिलाे भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थापाको बिगो कायम गरिएको रकम बराबरको धन घरजग्गा खरिद, कम्पनी स्थापना, सहकारीलगायतमा लगानी गरेको भेटिएको छ ।

नगर प्रमुख थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

सार्वजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । थापा नगर प्रमुख भएयता १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार गरेको देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेको छ ।