रास्वपा र राप्रपाले आज पनि बहिस्कार गर्यो प्रतिनिधि सभा बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै राप्रपा र रास्वपाले आजको बैठक बहिस्कार गरेका हुन् ।
आज सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरे। सभामुख घिमिरेले रास्वपा सांसद अशिम शाहलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनेसम्म आफूहरुको विरोध जारी रहने बताए ।
राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले आफूहरूको विरोध जारी रहने बताए ।
सांसद शाह र प्रधान बोलेपछि दुवै पार्टीका सांसदहरू बैठक बहिस्कार गर्दै बाहिर निस्किएका छन् ।