बागमती प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि मंगलवार २ बजेसम्म दाबी पेश गर्न आह्वान


हेटौंडा । मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले भोलि (मंगलवार) दिउँसो २ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले प्रदेश प्रमुख कार्यालयबाट उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।