‘कुलिङ पिरियड’ गडबडी सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं। कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिनिधि सभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
आइतवारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।
समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडालाई ‘नैतिक जिम्मेवार’ रहेको निष्कर्ष निकालेको छ । कुलिङ अफ पिरियडलाई निष्प्रभावि पार्न अर्को दफा थप्ने काम नियतवश गरिएको गम्भीर त्रुटी भएको भन्दै प्रतिवेदनले औँल्याएको छ । खतिवडासहित समितिबाट विधेयक प्रतिवेदनमा हस्ताक्षर गर्ने तत्कालिन समिति सभापति सुरज कुमार दुरालाई पनि नैतिक जिम्मेवार बनाइएको छ ।
त्यस्तै, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, संघीय संसदका महासचिव पद्य प्रसाद पाण्डेय लगायत कुलिङ अफ पिरियडको प्रावधान नराख्नका लागि प्रधानमन्त्री समक्ष लबिइङ गर्ने विभिन्न मन्त्रालयका सचिव लगायतले पद अनुकुलको आचरण नगरेको पनि समितिको ठहर छ ।