Ad Image

केरुङ नाकाको समस्या समाधान गर्न सांसद बर्तौलाद्वारा सरकारको ध्यानाकर्षण

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahesh-bartaula.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले रसुवाको केरुङ सडकखण्ड अवरोध हुँदा चीनबाट सामान ल्याउन समस्या भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले चाडपर्व नजिकिँदै गर्दा चीनबाट सामान ल्याउन समस्या भएकोप्रति सरकारको ध्यानाकषर्ण गराएका हुन्। 

उनले भने, “गएको असार २४ गते रसुवामा भीषण बाढी गयो। केरुङ नाकाको मितेरी पुलमा क्षति भयो, केरुङ नाका अहिले अवरुद्ध छ। त्यसको कारण केरुङ भएर नेपालतर्फ आउने सबै गाडीहरु रोकिएका छन्। त्यसको चाप अहिले तातोपानी नाकामा परेको छ। तातोपानीबाट पनि प्रत्येक दिन आठ÷दश वटा मात्रै कन्टेनर नेपाल आउने र जाने अवस्था रहेछ। यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले कोदारी खण्डमा यातायातका लागि असहज भएकाले सरकारको ध्यानाकर्षण गराए । 

सांसद मीना तामाङले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ र ९ मा प्रदूषणजन्य उद्योग सञ्चालनमा रोक लगाउन माग गरिन् । उनले भनिन्, “काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–८ र ९ मा रहेको लिच्छविकालीन इतिहास बोकेको श्ववणेश्वर महादेव मन्दिर र त्योसँग जोडिएको बस्तीलाई असर पर्नेगरी सो स्थानमा प्रदूषणजन्य उद्योग सञ्चालन गर्न दिने अनुमति दिन हुँदैन ।”

सांसद मैना कार्कीले भनिन्, “नेपालको विभिन्न घटना र प्राकृतिक घटनामा श्रीमान् गुमाएर महिलाले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण परम्परागत र रुढीवादी छ, उनीहरुको आर्थिक सबलीकरणका निम्ति राज्यले लगानी गर्नुपर्छ ।”