आधुनिक गाईपालनबाट मासिक साढे ३ लाख आम्दानी


इलाम । इलामको सूर्योदय नगरपालिका–३ रुङसुङका गोपाल आचार्यले आधुनिक गाईपालन व्यवसायबाट मासिक रु ३ लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।
परम्परागत सोचलाई परिवर्तन गर्दै उनले ‘पञ्चामृत गाईफार्म’ सञ्चालन गरेर सफलता हासिल गरेका हुन् । २०७० सालमा रु १० लाख ऋणबाट व्यवसाय सुरु गरेका आचार्यको फार्ममा अहिले ३४ वटा गाई छन् । तीमध्ये १२ वटा दूहुना छन् ।
उनले दैनिक १६० देखि २०० लिटरसम्म दूध उत्पादन गरी नजिकैको डेरी उद्योगमा प्रतिलिटर रु ६० मा बिक्री गर्छन् । यसबाट मात्रै उनको मासिक आम्दानी रु २ लाख ८८ हजारदेखि रु ३ लाख ६० हजारसम्म हुने गरेको छ ।
आचार्यले आम्दानीको पैसा व्यवसायमै पुनःलगानी गर्दै आएका छन् । अहिले उनको फार्मको कुल मूल्य रु १ करोडभन्दा बढी छ । दूध ढुवानीका लागि उनले एउटा पिकअप गाडी पनि किनेका छन् ।
फार्ममा तीन जनाले रोजगारी पाएका छन्, जसको तलबमा मात्रै मासिक रु ४२ हजार खर्च हुन्छ । आचार्यले गाईलाई चाहिने घाँसको लागि २०० रोपनी जग्गामा घाँसखेती पनि गरेका छन् । उनले गाईको गोबरबाट उत्पादित मल बेचेर वार्षिक रु १ लाख अतिरिक्त आम्दानी पनि गर्छन् ।
आचार्यलाई कोशी प्रदेश सरकारबाट दूध दूहुने उपकरणका लागि २ लाख ५० हजार र नगरपालिकाबाट गोठ सुधारका लागि रु २० हजार अनुदान प्राप्त भएको छ ।
यद्यपि, लम्पिस्किन रोगले १४ वटा गाई गुमाउँदा बिमाबाट रु ४० हजार मात्रै क्षतिपूर्ति पाएकोमा उनले गुनासो गरेका छन् । तर पनि हिम्मत नहारी व्यवसाय विस्तार गर्ने उनको योजना छ ।
Facebook Comments