रौतहटमा एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद


रौतहट । सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१\८२ मा ५ करोड ७४ लाख २ हजार ६९९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सन्तोषकुमार बस्नेतका अनुसार, सीमा सुरक्षामा सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुने क्रममा उल्लेख्य वृद्धि भएको छ ।
बरामद गरिएका सामानहरूमा २ करोड ३१ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरका सवारीसाधन रहेका छन् । जसमा स्कोरपियो, सफारी, बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल छन् ।
त्यसैगरी, २ करोड ४८ लाख ४५ हजार ६५३ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटर पार्टस् पनि बरामद गरिएको छ ।
यसका अतिरिक्त, सशस्त्र प्रहरीले स्रोत नखुलेको ४८ लाख १७ हजार ११० रुपैयाँ नेपाली र ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।
गत वर्ष ६९३ क्युफिट काठ, ४०६ कार्टुन मदिरा, ८५० किलो माछा, १ हजार २४९ किलो कुखुरा, १६ वटा गाईवस्तु र ४ लाख ३ हजार ५६ रुपैयाँका पटका पनि बरामद गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
Facebook Comments