क्वहोलासोथारमा ‘ट्होटे पर्व’को अवसरमा सार्वजनिक बिदा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kwholasothar Rural Municipality.jpg

लमजुङ । क्वहोलासोथार गाउँपालिकाले साउन २७ गते ‘ट्होटे पर्व’को अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । कार्यपालिका बैठकको निर्णयानुसार सो दिन गाउँपालिका तथा वडा कार्यालयहरू, विद्यालयहरू र अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहनेछन् ।

‘ट्होटे पर्व’ गुरुङ समुदायको एक मौलिक तथा ऐतिहासिक सांस्कृतिक पर्व हो । यो पर्व विशेषगरी गण्डकी प्रदेशमा धुमधामका साथ मनाइन्छ । यो पर्व वर्षमा दुई पटक चैत र साउन महिनाको अन्तिम मङ्गलबार पर्दछ ।

‘ट्हो’ भनेको राज्य वा बस्ती र ‘टे’ भनेको धपाउनु हो । यो पर्वको नामको अर्थ ‘राज्यबाट वैरी धपाउनु’ भन्ने हुन्छ । परापूर्वकालमा घले राजाहरूको पालामा आफ्नो राज्यमा वैरीको आक्रमण नहोस् भनी शत्रुलाई धपाउनका लागि यो पर्व मनाउने चलन सुरू भएको थियो ।

‘ट्होटे पर्व’लाई अँध्यारोबाट उज्यालो र रोग–शोकबाट स्वस्थ र सुखद् जीवनतर्फ लक्षित सांस्कृतिक प्रचलनका रूपमा लिने गरिन्छ ।

ट्होटे पर्व मनाउने तरिका
‘ट्होटे पर्व’मा गुरुङ समुदायका मानिसहरू आफ्नो मौलिक भेषभूषामा सजिएर झाँकीसहित र्याली निकाल्छन् । पुरुषहरूले भाङ्ग्रा, भोटो, कछाड लगाएर हातमा तरवार, लठ्ठी, धनुषबाण बोक्छन् भने महिलाहरू छिट्को गुन्यू, टिकिस र पटुकीमा सजिएका हुन्छन् ।

यो पर्वको उद्देश्य रोगव्याधी, नकारात्मक ऊर्जा र भूतप्रेत भगाउनु रहेको जनविश्वास छ । रंगशाला गेटदेखि नयाँबजारस्थित तमु धिं कार्यालयसम्म निस्कने र्यालीमा विभिन्न जनावर र भूतप्रेतका मुकुन्डो लगाएर प्रस्तुति दिइन्छ । समापनमा नदीमा सेलाएपछि ‘ट्होटे पर्व’लाई विश्राम दिइन्छ ।


Facebook Comments