‘तराईमा सिँचाइको स्थायी समाधान खोज्ने सरकारको सङ्कल्प’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् ।
मधेस प्रदेशमा ७६.५४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकाद हुन् ।
प्रधानमन्त्री ओलीले यस वर्षको खडेरीले अन्नको भण्डार मानिने तराईका खेतमा रोपाइँ गर्न नसकिने अवस्था आएको र जहाँ रोपाइँ भएको थियो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेकोमा चिन्ता व्यक्त गरे ।
ओलीले केही समयअघि तराईको भ्रमण गरेर सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहतको विशेष निर्णय गरेको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताए ।
तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम पनि अघि बढाइएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले हालैको वर्षाले हरियाली फर्काउन थालेकोमा खुसी व्यक्त गर्दै केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउने विश्वास व्यक्त गरे ।
Facebook Comments